विश्वभरका नेपाली मूललाई मातृभूमिसँग जोड्न सरकारसँग ए.एन.ओ.को ध्यानाकर्षण



काठमाडौं,चैत ४ — एशोसिएसन अफ नेपाली ओरिजिन (ए.एन.ओ.)को अन्तर्राष्ट्रिय कमिटीले विश्वभर छरिएका नेपाली मूलका व्यक्तिहरूलाई नेपालसँग जोड्ने पहल गर्न सरकारसँग ध्यानाकर्षण गराएको छ।

ए.एन.ओ.को अन्तर्राष्ट्रिय प्रतिनिधिमण्डलले मंगलबार परराष्ट्रमन्त्री बालानन्द शर्मालाई भेटी ध्यानाकर्षण पत्र बुझाएको हो। अन्तर्राष्ट्रिय अध्यक्ष डिल्ली अधिकारी, उपाध्यक्ष सुशिल पन्त, महासचिव चुडामणि भट्टराई र नेपाल च्याप्टर अध्यक्ष कृष्णप्रसाद सापकोटालगायतको टोलीले पुस्तौँदेखि विदेशमा रहेका नेपाली मूलका व्यक्तिहरूलाई परिचयपत्र उपलब्ध गराउन माग गरेको छ।

प्रतिनिधिमण्डलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा नेपाली मूलका व्यक्तिहरूका लागि छुट्टै डेस्क स्थापना गर्न पनि आग्रह गरेको छ। साथै पूर्वी नेपालका शिविरमा रहेका करिब ७ हजार भुटानी शरणार्थीहरूको मानवअधिकारका आधारमा उचित व्यवस्थापन गर्न माग गरिएको छ।

ए.एन.ओ.का अध्यक्ष अधिकारीले नेपाल सरकारले सहयोग गरेमा वैदेशिक लगानी उल्लेखनीय रूपमा भित्र्याउन सकिने दाबी गर्नुभयो। उपाध्यक्ष पन्तले नेपाली पहिचान र भावनालाई जोड्दै संगठन अघि बढेको बताउँदै यस विषयलाई राष्ट्रहितका दृष्टिले गम्भीर रूपमा लिन आग्रह गर्नुभयो। महासचिव भट्टराईले संगठनका मागहरू राजनीतिकभन्दा बढी सामाजिक, आर्थिक र सांस्कृतिक पहिचानसँग सम्बन्धित रहेको स्पष्ट पार्नुभयो।

ध्यानाकर्षण पत्र बुझ्दै परराष्ट्रमन्त्री शर्माले ए.एन.ओ.का प्रस्तावहरू नेपालको पहिचान विस्तारमा सहयोगी हुने बताउँदै सरोकारवाला निकायसँग छलफल गरी छिट्टै निर्णयमा पुग्ने आश्वासन दिनुभयो। उहाँले विदेशमा रहेका नेपाली मूलका व्यक्तिहरूलाई पुर्ख्यौली भूमिसँग जोड्ने अभियान महत्वपूर्ण रहेको उल्लेख गर्दै मध्यपूर्वबाट नेपालीहरूको उद्धार कार्यमा पनि सरकार सक्रिय रूपमा लागिरहेको जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्