सुविधा होइन, जनताको आवाजका लागि राजनीति गरेको हुँ : सांसद गुरुङ
काठमाडौं,चैत ४ — गोरखा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुदन गुरुङले आफू सुविधा र स्वार्थका लागि नभई जनताको आवाज संसद्सम्म पुर्याउन राजनीतिमा आएको बताउनुभएको छ।
ललितपुरमा मंगलबार आयोजित रास्वपाका नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण कार्यक्रममा बोल्दै गुरुङले सरकारी सुविधा प्रयोग नगर्ने घोषणा गर्नुभयो। उहाँले सरकारी गाडी प्रयोग नगर्ने र सांसदको तलब व्यक्तिगत प्रयोजनमा नलगाई जनहितमा खर्च गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँका अनुसार सांसदको तलब जेन्जी आन्दोलनमा घाइते भएका व्यक्तिहरूका लागि स्वास्थ्य, शिक्षा र रोजगारीका क्षेत्रमा प्रयोग गरिनेछ।
गुरुङले आन्दोलनबाट उठेका मुद्दाहरू संसद्मा सशक्त रूपमा उठाउने, महिला सशक्तीकरण, आधुनिक कृषि प्रवर्द्धन, दहेज तथा घरेलु हिंसाविरुद्ध कडा कानुन निर्माण र सामाजिक न्यायका पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले सेवा, त्याग र उत्तरदायित्वलाई केन्द्रमा राखेर जनताको पक्षमा दृढतापूर्वक उभिने स्पष्ट पार्नुभयो।

