इरानका शीर्ष सुरक्षा नेता अली लारीजानीको हत्या गरेको इजरायलको दाबी



तेहरान/तेलअभिव,चैत ४— इजरायलले मङ्गलबार इरानका राष्ट्रिय सुरक्षा प्रमुख तथा प्रभावशाली नेता अली लारीजानीको हत्या गरेको दाबी गरेको छ।

इजरायलका रक्षामन्त्री इजरायली काट्जले ‘गत राति’ गरिएको आक्रमणमा लारीजानीको मृत्यु भएको बताएका छन्। तर समाचार तयार पार्दासम्म यसबारे इरान सरकारको आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।

यदि इजरायलको दाबी सत्य ठहरिएमा, मध्यपूर्वमा जारी द्वन्द्वको दुई हप्ताभन्दा बढी समयपछि इरानका लागि यो अर्को ठूलो धक्का हुने विश्लेषण गरिएको छ। यसअघि अयातोल्लाह अली खामेनीको मृत्यु भएको केही सातामै यस्तो घटना भएको बताइएको छ। ६८ वर्षीय लारीजानीलाई इरानको सुरक्षा तथा रणनीतिक नीतिको ‘भित्री व्यक्तित्व’ का रूपमा हेरिन्थ्यो। उनी दशकौँदेखि तेहरानको परमाणु नीति र कूटनीतिक रणनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका थिए।

युद्ध सुरु भएपछि उनी अझ प्रभावशाली बनेका थिए। नयाँ सर्वोच्च नेता मोजतबा खामेनी सार्वजनिक रूपमा कम देखिए पनि लारीजानी हालै तेहरानमा आयोजित सरकार समर्थक र्यालीमा देखिएका थिए। स्थानीय स्रोतका अनुसार तेहरानमा राति विस्फोट र बमवर्षाको आवाज सुनिएको पुष्टि भएको छ। यद्यपि, इजरायलको दाबीपछि पनि लारीजानीको आधिकारिक सामाजिक सञ्जालमा हालै पोस्ट गरिएको सन्देशमा उनको मृत्युबारे कुनै उल्लेख छैन, जसले थप अन्योल बढाएको छ।

यसैबीच, इजरायलले रिभोलुसनरी गार्ड्ससँग सम्बन्धित बासिज अर्धसैनिक बलका प्रमुख घोलामरेजा सुलेमानीलाई पनि मारिएको दाबी गरेको छ। साथै प्यालेस्टिनी इस्लामिक जिहाद समूहका सैन्य नेता अक्रम अल–अजौरीलाई लक्षित आक्रमण गरिएको जनाइएको छ, तर उनको अवस्थाबारे पुष्टि भएको छैन।

सन् २०२३ अक्टोबर ७ पछि हमासको आक्रमणसँगै सुरु भएको द्वन्द्वमा इजरायलले विभिन्न क्षेत्रका शीर्ष नेताहरूलाई लक्षित गर्दै आक्रमण नीति अपनाउँदै आएको छ। यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका नयाँ सर्वोच्च नेता मोजतबा खामेनीको अवस्थाबारे अझै स्पष्ट जानकारी नभएको बताएका छन्।

यो घटनाले मध्यपूर्वमा जारी द्वन्द्व झनै चर्किने र क्षेत्रीय अस्थिरता बढ्ने संकेत देखाएको छ।

प्रतिक्रिया दिनुहोस्