नुवाकोटमा वन डढेलो नियन्त्रण अभियान सुरु, विभिन्न वनमा अग्निरेखा निर्माण
नुवाकोट,चैत ४ — नुवाकोटमा सुख्खायाम सुरु भएसँगै वन डढेलो नियन्त्रण अभियान सञ्चालन गरिएको छ। डिभिजन वन कार्यालयको अगुवाइमा विभिन्न सामुदायिक वनमा अग्निरेखा निर्माण कार्य अघि बढाइएको छ।
वन डढेलो नियन्त्रण तथा व्यवस्थापन कार्यक्रमअन्तर्गत अग्निरेखा निर्माणलाई प्राथमिकतामा राखिएको डिभिजन वन कार्यालयले जनाएको छ। सामुदायिक वन उपभोक्ता समूहको सहभागितामा उक्त कार्य भइरहेको डिभिजनल वन अधिकृत प्रदीपनाथ शर्माले जानकारी दिनुभयो।
उहाँका अनुसार अग्निरेखा निर्माणले सुख्खायाममा लाग्ने वन डढेलोबाट हुने जनधन तथा वन क्षति न्यून गर्ने अपेक्षा गरिएको छ।हालसम्म बेलकोटगढी नगरपालिका–७ स्थित शिलादेवी सामुदायिक वनमा २०० मिटर, विदुर नगरपालिका–८ स्थित माझिगाउँ वनमा २,५०० मिटर, पञ्चकन्या गाउँपालिका–५ स्थित नारुनदेवी वनमा २०० मिटर अग्निरेखा निर्माण गरिएको छ।
त्यस्तै, पञ्चकन्या–१ स्थित वनदेवीकाली वनमा ५०० मिटर, म्यागङ गाउँपालिका–३ स्थित महादेवस्थान वनमा २५० मिटर अग्निरेखा निर्माण गरिएको छ।
यसैगरी, तारकेश्वर गाउँपालिका–२ स्थित सिक्रेघर्ती भञ्ज्याङ सामुदायिक वनमा ९०० मिटर, विदुर–७ स्थित बासपानी सामुदायिक वनमा १,५०० मिटर तथा विदुर–३ स्थित पञ्चकन्या सामुदायिक वनमा करिब ३ किलोमिटर अग्निरेखा निर्माण भइरहेको कार्यालयले जनाएको छ।
सम्बन्धित सामुदायिक वन र सब-डिभिजन कार्यालयको लागत साझेदारीमा अग्निरेखा निर्माण तथा मर्मत कार्य भइरहेको छ। यसका साथै वन डढेलो नियन्त्रणका लागि आवश्यक सामग्री व्यवस्थापन, सुरक्षा निकायसँग समन्वय तथा विभिन्न पालिकाका डढेलो फोकल पर्सन, सामुदायिक वन उपभोक्ता समूह, फेकोफन लगायत सरोकारवालाहरूलाई सचेतना कार्यक्रमसमेत सञ्चालन गरिएको वन अधिकृत कमल घिमिरेले जानकारी दिनुभयो।
कार्यालयले सबै सरोकारवालालाई सचेत र सजग रहन आग्रह गर्दै वन डढेलो नियन्त्रणमा सामूहिक प्रयास आवश्यक रहेको जनाएको छ।

