पासाङल्हामु यातायातको अधिवेशन सम्पन्न, अध्यक्षमा कुलबहादुर खड्गी चयन



नुवाकोट,चैत ४— नमस्ते पासाङल्हामु यातायात प्रालिको विशेष अधिवेशन सम्पन्न भएको छ। झण्डै चार दशकदेखि नुवाकोट–रसुवा क्षेत्रमा यातायात सेवा सञ्चालन गर्दै आएको उक्त कम्पनीको अधिवेशनले त्रिशूली बजारका कुलबहादुर खड्गीलाई अध्यक्षमा चयन गरेको हो।

अधिवेशनले खड्गीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। समितिका सदस्यहरूमा धनबहादुर श्रेष्ठ, आशिष श्रेष्ठ, श्रीकृष्ण आचार्य, मंगलबहादुर लामा, ईश्वरीलाल श्रेष्ठ, होमबहादुर कुमाल, रविन वैद्य, लोकराज न्यौपाने, रवि रिमाल र निरकुमार मोक्तान रहेका छन्।

नव-निर्वाचित कार्यसमितिलाई प्रमाणपत्र प्रदान गर्नुका साथै पद तथा गोपनीयताको शपथ गराइएको छ। अध्यक्ष खड्गीले आफ्नो नेतृत्वमा यातायात सेवालाई अझ व्यवस्थित, गुणस्तरीय, सुरक्षित र सेवामुखी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

यसअघि अध्यक्ष रामहरि श्रेष्ठको नेतृत्वमा रहेको पुरानो समिति विघटन गर्दै नयाँ कार्यसमिति गठन गरिएको हो। कम्पनीसँग हाल करिब तीन सय बस सञ्चालनमा रहेका छन्।

नुवाकोट–रसुवा क्षेत्रमा टिमुरे यातायात प्रालि, त्रिशूली यातायात र नेपाल माइक्रोवस कम्पनीका सवारी साधनसमेत सञ्चालनमा छन्। यी चार कम्पनीमार्फत काठमाडौंदेखि नुवाकोट र रसुवातर्फ करिब पाँच सय सवारी साधन सञ्चालन हुँदै आएका छन्।

पछिल्लो समय जिल्लामा सडक दुर्घटना बढ्दै गएको अवस्थालाई ध्यानमा राख्दै ट्राफिक सचेतना अभिवृद्धि गरिएको छ। साथै ढिकुरे–छहरे–टोखा सडकमार्गमा टाइम कार्ड प्रणाली लागू गरिएको छ भने विद्युतीय सवारी साधन (ईभी) समेत सञ्चालनमा आउन थालेका छन्।

प्रतिक्रिया दिनुहोस्