देशभर आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना



काठमाडौं,चैत ४ — जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

आज दिउँसो देशका हिमाली भूभागमा सामान्यतया बदली रहनेछ भने पहाडी र तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ।कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश तथा गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागमा सामान्यतया बदली रहनेछ। साथै बागमती प्रदेश र कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।

यसैगरी, सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाइएको छ।

महाशाखाले सम्भावित वर्षा, हिमपात तथा चट्याङका कारण हुन सक्ने जोखिमबाट सतर्क रहन सर्वसाधारणलाई अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्