आज घोडेजात्रा पर्व, काठमाडौँ उपत्यकामा विविध कार्यक्रम आयोजना
काठमाडौं, चैत ४ — प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज विभिन्न कार्यक्रमका साथ काठमाडौँ उपत्यकामा मनाइँदैछ।
परम्पराअनुसार टुँडिखेल क्षेत्रमा विशेष कार्यक्रम आयोजना गरिन्छ। जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बस्ने ‘गुरुमापा’ नामक राक्षसले सहरका बालबालिकालाई दुःख दिने गर्थ्यो। स्थानीयवासीले विभिन्न उपाय अपनाएर उक्त राक्षसलाई परास्त गरे पनि त्यसको आत्मा पुनः सक्रिय हुन सक्ने भयका कारण घोडेजात्रा मनाउने परम्परा सुरु भएको मानिन्छ।
यस दिन घोडा दौडाएर गुरुमापाको आत्मालाई घोडाको टापले दबाउने विश्वास रहिआएको छ। साथै, बालबालिकाको सुरक्षाका लागि राति सोही स्थानमा गुरुमापालाई खानेकुरा चढाउने चलन पनि रहेको छ।यसो गरेपछि वर्षभर बालबालिकामा कुनै अनिष्ट नहुने विश्वास गरिन्छ।
आज नेपाली सेनाद्वारा टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम तथा युद्धकलासहित विविध प्रदर्शन गरिने कार्यक्रम रहेको छ।
घोडेजात्राको अवसरमा सरकारले काठमाडौँ उपत्यकामा सार्वजनिक बिदासमेत दिएको छ।

