कर्मचारी सरुवा अब पूर्ण रूपमा अनलाइन प्रणालीबाट गर्ने तयारी
काठमाडौं, चैत ४ — सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी सरुवा प्रणालीलाई पूर्ण रूपमा प्रविधिमैत्री बनाउने अन्तिम तयारी गरेको छ।
नयाँ सफ्टवेयर लागू भएपछि कर्मचारीले सरुवाका लागि मन्त्रालय धाउन नपर्ने र अनलाइन निवेदनकै आधारमा सरुवा प्रक्रिया अघि बढ्नेछ। प्रणालीले सम्भावित पाँच कार्यालय स्वतः देखाउने व्यवस्था गरिएकाले सोही आधारमा सरुवा गरिने जनाइएको छ।
मन्त्रालयका सहसचिव पार्वती शर्माका अनुसार यसले सरुवामा हुने भनसुन, पहुँच र असमानता अन्त्य गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यसैबीच, राष्ट्रिय किताबखानासँग २४ घण्टाभित्र विवरण अद्यावधिक गर्ने समझदारी भइसकेको छ।
सफ्टवेयर कार्यान्वयनसँगै सरुवा, बढुवा र कर्मचारी व्यवस्थापनका काम पारदर्शी, सहज र पेपरलेस हुने विश्वास गरिएको छ।

