१३ वर्षीया किशोरीमाथि जबरजस्ती करणी, एक जना पक्राउ
कालीकोट,चैत ४ — कालीकोटको रास्कोट नगरपालिका–१ मा एक १३ वर्षीया किशोरीमाथि आफन्तबाटै जबरजस्ती करणी भएको घटनामा एक जना पक्राउ परेका छन्।
साथीको घरमा गएका बेला साथीकै बुवाले जबरजस्ती करणी गरेको र त्यसपछि गर्भवती भएको भन्दै घटना सार्वजनिक भएको हो।महिनावारी रोकिने समस्या देखिएपछि परिवारले सोधीखोजी गर्दा घटना बाहिरिएको र त्यसपछि प्रहरीसम्म पुगेको बताइएको छ।
किशोरीले दिएको जाहेरीअनुसार रातिको समयमा जबरजस्ती गरिएको र डरत्रास देखाएर कसैलाई नभन्न दबाब दिइएको उल्लेख छ। अर्को दिन पनि पुनः जबरजस्ती भएको उनले बताएकी छन्।
प्रहरीका अनुसार बलबहादुर सार्की नामक ५३ वर्षीय व्यक्तिलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख हिमबहादुर खत्रीका अनुसार घटनासम्बन्धी जाहेरी परेपछि आरोपितलाई नियन्त्रणमा लिइएको हो।
पीडित किशोरी हाल हजुरआमासँग बस्दै आएकी र पारिवारिक अवस्थासमेत जटिल रहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको छ भने बालअधिकार र कानुनी प्रक्रियाअनुसार आवश्यक कारबाही अघि बढाइने जनाएको छ।

