निर्वाचन आयोगले बिहीबार राष्ट्रपतिसमक्ष अन्तिम परिणाम बुझाउने



काठमाडौं,चैत ४ — निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्ने तयारी गरेको छ।

सञ्चारमाध्यमसँग कुरा गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले दिउँसो ४ बजे अन्तिम प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाइने जानकारी दिनुभयो।

संविधानको धारा ९३ अनुसार निर्वाचनको अन्तिम परिणाम घोषणा भएको ३० दिनभित्र राष्ट्रपतिले सङ्घीय संसद्को अधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ। आयोगले प्रतिवेदन बुझाएपछि नयाँ सरकार गठन प्रक्रिया औपचारिक रूपमा सुरु हुनेछ।

धारा ७६ अनुसार बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गरिनेछ। स्पष्ट बहुमत नभएमा दुई वा बढी दलको समर्थनमा बहुमत जुटाउने सदस्यलाई प्रधानमन्त्री बनाउने संवैधानिक प्रावधान रहेको छ।

प्रतिवेदन पेस भएसँगै नयाँ सांसदहरूको शपथ ग्रहण र संसदीय दलको नेता चयन प्रक्रिया पनि अघि बढ्नेछ। यस निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रत्यक्षतर्फ १२५ सिट जित्दै अग्रता हासिल गरेको छ भने समानुपातिकतर्फ पनि उल्लेखनीय मत प्राप्त गरेको छ। यससँगै रास्वपा एकल सरकार गठनको स्थितिनजिक पुगेको देखिएको छ।

प्रतिक्रिया दिनुहोस्