नुवाकोटका परियारसहित ४ जना ७१ ग्रामभन्दा बढी ब्राउन सुगरका साथ पक्राउ
महोत्तरी,चैत ४ — बर्दिबास नगरपालिका–३ गौरीडाँडास्थित बीपी राजमार्गमा प्रहरीले ठूलो परिमाणको लागुऔषध ब्राउन सुगरसहित चार जनालाई नियन्त्रणमा लिएको छ।
विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबास र इलाका प्रहरी कार्यालय बर्दिबासको संयुक्त टोलीले प्रदेश–०२–०१–००१ च ०४४१ नम्बरको स्कार्पियो गाडी जाँच गर्दा उक्त लागुऔषध बरामद गरिएको हो।
तलासीका क्रममा नुवाकोट सूर्यगढी गाउँपालिका–४ का ३१ वर्षीय अविरल परियारको साथबाट प्लास्टिकभित्र लुकाइएको अवस्थामा ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।
बरामद लागुऔषधको तौल प्लास्टिकसहित ७५ ग्राम र शुद्ध ७१.०४ ग्राम रहेको जनाइएको छ। यसको बजार मूल्य करिब १३ देखि १५ लाख रुपैयाँसम्म रहेको अनुमान गरिएको छ।
घटनामा संलग्न रहेको आरोपमा सिरहा मिर्चैया नगरपालिकाका चालक मुरलीकुमार रायसहित रमण घिमिरे र सुनिल पटेललाई पनि नियन्त्रणमा लिइएको छ।
पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ।

