नुवाकोटमा दुई मोटरसाइकल ठोक्किँदा दुई जना घाइते



नुवाकोट,चैत ४ —जिल्लाको विदुर नगरपालिका–५ पिपलटारस्थित गल्छी–त्रिशूली सडक खण्डमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्।

बुधबार बेलुका करिब ५ बजेर १० मिनेटतिर जाल्पादेवी पेट्रोल पम्प अगाडि देवीघाटबाट विदुरतर्फ आउँदै गरेको बा.९७ प ३०८७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको बा.प्र.३–००३ प ४६६४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा बेलकोटगढी नगरपालिका–११ तिगाउँका २७ वर्षीय शुभलाल तामाङ टाउको र निधारमा चोट लागी घाइते भएका छन्। त्यस्तै बेलकोटगढी–८ बाहुनडाँडाका ४० वर्षीय तारानाथ पुडासैनी दाहिने हात र खुट्टामा चोट लागी घाइते भएका छन्।

घाइते दुवैजनालाई उद्धार गरी त्रिशूली अस्पतालमा उपचारका लागि पठाइएको र हाल उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्