प्रतिनिधिसभामा १७ दलित सांसद, समानुपातिकबाट १६ जना चयन



काठमाडौं, चैत ५ — प्रतिनिधिसभामा समानुपातिक प्रणालीमार्फत १६ जना दलित सांसद निर्वाचित भएका छन् भने प्रत्यक्षतर्फ एक जनासहित कुल १७ जना (६.१८ प्रतिशत) दलित प्रतिनिधित्व पुगेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फ पाएको ५७ सिटमध्ये आठ जना दलितलाई प्रतिनिधित्व गराएको छ, जसमध्ये सात जना महिला रहेका छन्। रास्वपाबाट सुर्खेतकी सीता बादी पहिलो पटक बादी समुदायबाट प्रतिनिधिसभामा पुग्ने ऐतिहासिक व्यक्ति बन्नुभएको छ।

नेपाली कांग्रेसले समानुपातिकमा तीन जना दलित महिला सांसद बनाएको छ भने नेकपा एमालेले दुई जना दलित महिलालाई प्रतिनिधित्व गराएको छ। त्यस्तै नेपाल कम्युनिस्ट पार्टीबाट दुई जना र श्रम संस्कृति पार्टीबाट एक जना दलित सांसद निर्वाचित भएका छन्।यद्यपि, दलितभित्रको समावेशीकरण भने कमजोर देखिएको छ। कुल १७ जनामध्ये १४ जना विश्वकर्मा समुदायका छन् भने अन्य समुदायबाट सीमित प्रतिनिधित्व भएको छ। मधेशी दलितको प्रतिनिधित्व भने यसपटक पनि हुन सकेको छैन।

दलित अधिकारकर्मीहरूले समग्र प्रतिनिधित्व बढे पनि आन्तरिक समावेशीकरणमा राजनीतिक दलहरू अझै कमजोर रहेको टिप्पणी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्