देशभर आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना



काठमाडौं,चैत ५ — जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

यसका कारण कोशी प्रदेश, मधेश प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागमा आंशिक बदली रहेको छ भने बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ।

महाशाखाका अनुसार बिहीबार दिउँसो देशका पहाडी तथा हिमाली भू–भागमा साधारणतया बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानसहित लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

त्यसैगरी आज राति पनि पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि साधारण बदली रहने र केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले विशेषगरी पहाडी तथा हिमाली क्षेत्रमा चट्याङ र वर्षाबाट सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्