नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन आजदेखि सुरु



काठमाडौं, चैत ५ — नेपाल आदिवासी जनजाति महासंघको ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ।

महासंघका महासचिव दिवस राईका अनुसार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुने महाधिवेशनको उद्घाटन दिउँसो १ बजे रामचन्द्र पौडेलले गर्ने कार्यक्रम रहेको छ।

त्यसअघि बिहान ११ बजे भृकुटीमण्डपबाट विभिन्न जातीय पोशाक, सांस्कृतिक झाँकी, नाचगान तथा र्यालीसहित नगर परिक्रमा गरिने कार्यक्रम तय गरिएको छ।

‘प्राकृतिक स्रोत जल, जमिन र जंगलमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, प्राचीन सभ्यता र ऐतिहासिक पृष्ठभूमिका आधारमा प्रदेशहरूको पुनः नामाङ्कन गर’ भन्ने नारासहित आयोजना हुने महाधिवेशनमा ५६ जातीय घटक संस्था, सम्बन्धन संगठन, प्रवास संगठन तथा प्रदेश–जिल्लाबाट ५०० भन्दा बढी प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुनेछन्।

महाधिवेशनको बन्द सत्र भोलि स्टार ब्यांक्वेट, स्वयम्भूमा हुने र सोही सत्रले नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम रहेको छ।

वि.सं. २०४७ सालमा स्थापना भएको महासंघ नेपालका आदिवासी जनजातिहरूको छाता संगठनका रूपमा परिचित छ।

प्रतिक्रिया दिनुहोस्