कैलालीमा ट्रकको ठक्करबाट श्रीमान–श्रीमतीको मृत्यु



कैलाली,चैत ५— कैलारी गाउँपालिका–५ बैजपुरस्थित हुलाकी राजमार्गमा ट्रकको ठक्करबाट श्रीमान–श्रीमतीको ज्यान गएको छ।

बुधबार राति ना ६ ख ७७८ नम्बरको ट्रकले गोरुगाडालाई ठक्कर दिँदा स्थानीय ६० वर्षीय कलेसु चौधरी र उहाँकी ७० वर्षीया श्रीमती सीतारानी चौधरी गम्भीर घाइते भएका थिए। उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिए पनि चिकित्सकले सीतारानीलाई मृत घोषणा गरेका थिए भने कलेसुको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गोरुगाडा तानिरहेको एउटा गोरुको पनि मृत्यु भएको छ भने अर्को गोरु घाइते भएको बताइएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगेन्द्र तिमिल्सिनाका अनुसार ट्रक चालक धनगढी उपमहानगरपालिका–३ का ३३ वर्षीय रुबेन थापामगरलाई ट्रकसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्