स्कुल बसले किचेर दुई वर्षे बालकको मृत्यु
सर्लाही,चैत ५ — हरिवन क्षेत्रमा स्कुल बसको ठक्करबाट एक बालकको ज्यान गएको छ।
बिहीबार बिहान सगुन शिक्षा आवासीय विद्यालय हरिवनको ना. १ क. ७३८२ नम्बरको बसले किच्दा स्थानीय श्याम गोलेका दुई वर्षे छोरा यनस गोलेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
बिहान करिब ९ बजेतिर विद्यार्थी उठाउन पुगेको बसले अघि बढ्ने क्रममा बालकलाई किचेको हो। प्रत्यक्षदर्शीका अनुसार दाइलाई बस चढाउन आमासँगै सडकमा पुगेका बालक बस रोकिएको स्थानमा पुगेका बेला दुर्घटना भएको हो।
दुर्घटनामा संलग्न बस र चालकलाई इलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा लिएको छ। प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारीका अनुसार मृतक बालकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाउने तयारी भइरहेको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

