तीन दिन देशभर वर्षा, हिमपात र हावाहुरीको चेतावनी
काठमाडौं,चैत ५ — राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबारदेखि तीन दिन देशका विभिन्न भागमा भारी वर्षा, हिमपात र भीषण हावाहुरीको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान उद्धृत गर्दै प्राधिकरणले चैत ६ गतेदेखि मौसममा उल्लेख्य परिवर्तन आउने जनाएको हो ।
कर्णाली र सुदूरपश्चिममा वर्षा–हिमपातको सम्भावना
शुक्रबार दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको छ। यसले चिसो बढाएर जनजीवन प्रभावित पार्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
लुम्बिनी र पूर्वी क्षेत्रमा हावाहुरीको जोखिम
लुम्बिनी प्रदेशका दाङ, नेपालगञ्ज लगायत तराई क्षेत्रमा शुक्रबारदेखि हावाहुरीको जोखिम बढ्नेछ। शनिबार पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र धरान आसपासमा प्रतिघण्टा करिब ११९ किलोमिटरको गतिमा तीव्र हावाहुरी चल्न सक्ने चेतावनी दिइएको छ।
सम्भावित जोखिम र सतर्कता अपिल
प्रि–मनसुनको समयमा हुने यस्ता हावाहुरीले रूख ढल्ने, घरका छाना उड्ने तथा विद्युत् र सञ्चार सेवा अवरुद्ध हुने जोखिम रहेको छ।
प्राधिकरणले अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन, सुरक्षित स्थानमा बस्न र सम्भावित जोखिमबाट जोगिन विशेष सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।

