चैत्र १३ गते बालेन्द्र शाहलाई प्रधानमन्त्रीको शपथ गराउने रास्वपा शीर्ष नेताहरुको निर्णय
काठमाडौं,चैत ५ । राष्ट्रिय स्वतन्त्र पार्टीले यही चैत्र १३ गते प्रधानमन्त्रीको रुपमा बरिष्ठ नेता बालेन्द्र शाहलाई शपथ गराउने गरी तयारी अगाडि बढाएको छ ।
आज भएको पार्टीका शीर्ष नेताहरुबीचको छलफलमा चैत्र १३ गते प्रधानमन्त्री चयन गर्ने मिति तय गरेको पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले नेपालटिभीअनलाइनलाई जानकारी दिनुभयो ।
पार्टीको तर्फबाट निर्णय भएपनि सरकार र अरु पक्षबीच पनि प्रधानमन्त्रीको शपथको विषय जोडिने हुँदा अन्तिम निर्णय भने थप छलफलबाट गरिने महामन्त्री बुर्लाकोटीको भनाइ छ।
प्रधानमन्त्रीसहितको नयाँ मन्त्रिमण्डल गठनको विषयमा पनि सँगै छलफल भइरहेको उहाँको भनाइ छ। नवनिर्वाचित सांसदहरुको शपथ चैत्र १२ गते हुने तय भैसकेको छ ।
निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनको अन्तिम नतिजासहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाए लगत्तै रास्वपाका शीर्ष नेताहरु सरकार गठनको छलफलमा जुटेका थिए ।
सभापति रवि लामिछाने, बरिष्ठ नेता बालेन्द्र शाह, उपसभापतिद्वय डीपी अर्याल र डा स्वर्णिम वाग्लेबीच छलफल गरेर प्रधानमन्त्रीको शपथको मिति तय गरिएको हो ।

