कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज, सभापति थापाको राजीनामाबारे छलफल हुने
काठमाडौं,चैत ६ — नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (शुक्रबार) बस्दैछ। बैठकमा प्रतिनिधिसभा निर्वाचनको समीक्षा र भावी रणनीति तय गर्ने एजेन्डा रहेको छ।
सभापति गगनकुमार थापाले बुधबार उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामापत्र बुझाएपछि त्यसबारे पनि बैठकमा विशेष छलफल हुने बताइएको छ।
थापाको राजीनामापछि बैठकको सभापतित्व उपसभापति शर्माले गर्नेछन्। उपसभापति पुष्पा भुसालका अनुसार बैठकमा निर्वाचनको गहन समीक्षा गर्दै आगामी कार्यदिशा तय गरिनेछ।
उहाँले लोकतान्त्रिक प्रक्रियामा हार–जितलाई स्वाभाविक रूपमा स्वीकार गर्दै पार्टीलाई अगाडि बढाउनुपर्ने बताउनुभयो।
सभापति थापाको राजीनामापछि कांग्रेसभित्र नयाँ बहस सुरु भएको छ। यद्यपि केन्द्रीय कार्यसमितिको निर्णयपछि उहाँ पुनः जिम्मेवारीमा फर्किने सम्भावना रहेको र राजीनामा अस्वीकृत गर्ने प्रस्तावसमेत बैठकमा पेश हुने बताइएको छ।

