देशभर मौसम बदली, वर्षा र हिमपातको सम्भावना—सतर्कता अपनाउन आग्रह



काठमाडौँ,चैत ६ । देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभावका कारण मौसम बदली भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदली रहेको छ भने अन्य क्षेत्रका केही भागमा आंशिक बदली र बाँकी स्थानमा मौसम मुख्यतया सफा रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशका अधिकांश स्थानमा बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानसहित गण्डकी, लुम्बिनी र कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। केही स्थानमा भारी वर्षा वा हिमपातसमेत हुन सक्ने जनाइएको छ।

त्यस्तै, आज राति पनि देशभर बदली रहने र कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका धेरै स्थानमा तथा अन्य प्रदेशका केही भागमा वर्षा, हिमपात र चट्याङको सम्भावना रहेको महाशाखाले जनाएको छ।मौसममा आएको परिवर्तनका कारण प्रभावित क्षेत्रका सर्वसाधारण, किसान तथा यात्रुहरूलाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्