नुवाकोटमा एमाले उम्मेदवारद्वय पाण्डे र मैनाली द्वारा चुनावी खर्च सार्वजनिक
नुवाकोट, चैत ६ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी नुवाकोटका दुई जना उम्मेदवारले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन्।
नुवाकोट क्षेत्र नं. १ का नेकपा एमालेका उम्मेदवार बद्री मैनालीले २२ लाख ४३ हजार रुपैयाँ खर्च भएको विवरण पेश गरेका छन्। उनले उम्मेदवार दर्ता, आमसभा, घरदैलो, प्रचार सामग्री, सवारी साधन र सञ्चार माध्यममार्फत गरिएको प्रचारप्रसारलगायत विभिन्न शीर्षकमा खर्च भएको उल्लेख गरेका छन्।
यस्तै, क्षेत्र नं. २ का एमाले उम्मेदवार केशवराज पाण्डेले २८ लाख ५० हजार रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेका छन्। उनका तर्फबाट पेश गरिएको विवरणमा २९ लाख ५० हजार रुपैयाँ सहयोग स्वरूप आम्दानी भएको उल्लेख छ।
दुवै उम्मेदवारले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार निर्वाचन आयोगमा खर्च विवरण बुझाएको जनाएका छन्।

