नुवाकोटमा सिकारको गोली लाग्दा महिला गम्भीर घाइते
नुवाकोट, चैत ६ । नुवाकोटको शिवपुरी गाउँपालिका–३ दियालेमा सिकार खेल्ने क्रममा चलेको गोली लागेर एक महिला गम्भीर घाइते भएकी छन्।
स्थानीय ४१ वर्षीया कान्छिमाया तामाङलाई बिहीबार अपरान्ह सिकारीले हानेको गोली छातीमा लाग्दा उनको अवस्था गम्भीर बनेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिनुभयो।
घाइते तामाङको हाल काठमाडौंको धुमबाराहीस्थित ह्याम्स अस्पतालमा उपचार भइरहेको छ। प्रारम्भिक अनुसन्धानअनुसार स्थानीय १७–१८ जना मिलेर बस्ती नजिकैको जंगलमा सिकार खेल्न गएको समयमा उक्त घटना भएको खुलेको छ।
प्रहरीले घटनामा प्रयोग भएका दुई थान भरुवा बन्दुक र मृगको मासु बरामद गरेको जनाएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

