देशभर हुरीबताससहित वर्षा, उच्च सतर्कता अपनाउन आग्रह



काठमाडौँ, चैत ६ । जल तथा मौसम विज्ञान विभागले हाल सातै प्रदेशका विभिन्न जिल्लामा हुरीबतास, असिनासहित वर्षा भइरहेको जनाएको छ।

विभागका अनुसार पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण देशका धेरै स्थानमा वर्षा भइरहेको हो। मौसमविद् हरिप्रसाद दाहालका अनुसार विभिन्न क्षेत्रमा हुरीबताससहित वर्षा जारी छ, जसमा मकवानपुरको गढी क्षेत्रमा पछिल्लो २४ घण्टामा सबैभन्दा बढी ४६ मिलिमिटर वर्षा मापन गरिएको छ। काठमाडौँमा ३९ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ।

हालको वर्षा प्रणाली पश्चिमबाट उत्तरपूर्वतर्फ सर्दै गएको छ र आगामी करिब तीन घण्टासम्म यस्तो मौसम रहने सम्भावना रहेको विभागले जनाएको छ।

हुरीबताससहितको वर्षाका कारण यातायात, सञ्चार तथा विद्युत् सेवा प्रभावित भएको छ। विभागले अत्यावश्यक बाहेक बाहिर ननिस्कन र उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

आज राति र भोलिसम्म मधेश, कोशी, बागमती र लुम्बिनी प्रदेशका तराई तथा पहाडी क्षेत्रमा हुरीबतास चल्ने सम्भावना रहेको छ। कमजोर संरचना, रुख ढल्ने तथा छाना उड्ने जोखिम रहेकाले आवश्यक सावधानी अपनाउन विभागले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्