असिनापानीले सेताम्य शिवपुरी : किसानको खेतबारीमा बज्रपात



नुवाकोट, चैत ६ । शुक्रबार साँझ नुवाकोटको शिवपुरी गाउँपालिकाका विभिन्न क्षेत्र एकाएक सेताम्य बने। आकाशबाट झरेको भीषण असिनापानीले केहीबेरमै गाउँका खेतबारी ढाकिए, तर त्यो दृश्य जति सुन्दर देखियो, किसानका लागि त्यति नै पीडादायी बन्यो।

शिवपुरी गाउँपालिका का वडा नम्बर ६ का अध्यक्ष बिष्णु श्रेष्ठका अनुसार गुर्जे, समुद्रादेवी, छाप र थानाभञ्ज्याङ् आसपासका क्षेत्रमा हावाहुरीसँगै ठूलो परिमाणमा असिना परेको हो। स्थानीयका भनाइमा, केही मिनेटमै खेतबारी सेताम्य बनेका थिए।

असिनासँगै आएको हावाहुरीले विशेषगरी माथिल्लो भूभागमा लगाइएका नगदेबालीमा ठूलो क्षति पुर्‍याएको छ। किसानहरूले लगाएको तरकारी, गहुँ, तोरी र मकैका बिरुवामा गम्भीर असर परेको बताइएको छ। “हामीले महिनौँ मिहिनेत गरेर लगाएको बाली एकैछिनमा सखाप भयो,” एक स्थानीय किसानले दुःखेसो पोखे।

असिनाले बालीमा मात्रै होइन, किसानको आशामा पनि चोट पुर्‍याएको छ। उत्पादनको अपेक्षा राखेका कृषकहरू अहिले क्षतिको मूल्यांकनमै व्यस्त छन्।

यसैबीच, जिल्लाको ककनी गाउँपालिका को माथिल्लो भूभागमा समेत यस्तै असिनापानीले क्षति पुर्‍याएको खबर प्राप्त भएको छ।

स्थानीय तहले क्षतिको विवरण संकलन सुरु गरिसकेको जनाएको छ भने प्रभावित किसानका लागि राहत तथा सहयोग आवश्यक रहेको सरोकारवालाले बताएका छन्।

प्रि–मनसुनको सुरुवातसँगै आएको यस्तो असिनापानीले कृषि क्षेत्रमा जोखिम बढ्दै गएको संकेत दिएको छ। मौसमको अनिश्चितताबीच किसानको भविष्य झनै चुनौतीपूर्ण बन्दै गएको छ।

प्रतिक्रिया दिनुहोस्