कांग्रेस सभापति गगनकुमार थापा को राजीनामा अस्वीकृत
काठमाडौँ, चैत ६ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापा ले दिएको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको छ।
शुक्रबार सानेपास्थित केन्द्रीय कार्यालयमा उपसभापति विश्वप्रकाश शर्मा को अध्यक्षतामा बसेको बैठकले थापाको राजीनामा नस्वीकार्ने निष्कर्ष निकालेको हो। थापाले बुधबार उपसभापति शर्मासमक्ष राजीनामा बुझाएका थिए।
बैठकमा सभापति थापा अनुपस्थित रहेपछि उनको कुर्सी खाली राखेर बैठक सञ्चालन गरिएको थियो। सह–महामन्त्री बहादुरसिंह लामा ले बैठकले राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको जानकारी दिएका छन्।
बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक समीक्षा तथा पार्टीको आगामी पन्ध्रौँ महाधिवेशनबारे पनि छलफल गरिएको जनाइएको छ। यसका साथै भावी रणनीति तय गर्ने उद्देश्यले दुई प्रस्ताव पेश गरिएको थियो—पहिलो, सभापति थापाको राजीनामासम्बन्धी विषय र दोस्रो, प्रतिनिधिसभा निर्वाचनको समीक्षा।
कांग्रेसभित्र उत्पन्न भएको नेतृत्वसम्बन्धी बहसका बीच राजीनामा अस्वीकृत गर्ने निर्णयले पार्टीभित्रको आन्तरिक राजनीति थप चासोको विषय बनेको छ।

