कुखुरामा बर्ड फ्लु पुष्टि : दुई पालिकामा सतर्कता बढाइयो



काठमाडौँ, चैत ६ । मोरङका दुई स्थानीय तहमा बर्ड फ्लु (एभिएन इन्फ्लुएन्जा) सङ्क्रमण पुष्टि भएपछि नियन्त्रणका लागि तीव्र पहल सुरु गरिएको छ।

पशु सेवा विभाग का महानिर्देशक डा. उमेश दाहाल का अनुसार सुन्दरहरैँचा नगरपालिका–४ र उर्लाबारी नगरपालिका–८ मा पालिएका कुखुरामा बर्ड फ्लु देखिएको हो। चैत ४ गते सङ्कलित नमुनाको केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको जनाइएको छ।

सङ्क्रमण फैलिन नदिन प्रभावित क्षेत्रलाई ‘चार किल्ला’ तोकी नियन्त्रण अभियान अघि बढाइएको छ। सङ्क्रमित क्षेत्रका कुखुरा तथा पन्छीजन्य पदार्थ नष्ट गरी निसङ्क्रमण गर्ने काम जारी रहेको विभागले जनाएको छ।

विभागले सङ्घ, प्रदेश र स्थानीय तहसँग समन्वय गरी नियन्त्रण अभियान चलाइरहेको बताउँदै कृषक तथा व्यवसायीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। फार्ममा अनावश्यक आवतजावत रोक्न, कामदारले छुट्टै सुरक्षात्मक सामग्री प्रयोग गर्न तथा प्रयोग भइसकेका अण्डाका क्रेट पुनः प्रयोग नगर्न सुझाव दिइएको छ।

त्यस्तै, मरेका कुखुरा सुरक्षित रूपमा व्यवस्थापन गर्न, एक फार्मका कामदार अर्को फार्ममा नजान र धेरै सङ्ख्यामा कुखुरा बिरामी परे वा मरेमा तुरुन्त पशु सेवा केन्द्रमा जानकारी गराउन आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्