आइतबारसम्म हावाहुरी, असिना र चट्याङको चेतावनी
काठमाडौँ,चैत ६ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखा ले आगामी तीन दिन देशका विभिन्न भागमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षा हुने पूर्वानुमान गरेको छ।
महाशाखाले शुक्रबार साँझ जारी गरेको बुलेटिनअनुसार हाल मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै पहाडी तथा हिमाली भू–भागमा बदली रहेको छ। केही स्थानमा मेघगर्जनसहित वर्षा र हिमपात भइसकेको छ।
आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिमका केही स्थानमा चट्याङ, असिना र हावाहुरीसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
शनिबार देशभर बदली रहने र अधिकांश प्रदेशमा मेघगर्जनसहित वर्षा, हिमपात तथा हावाहुरीको जोखिम रहने महाशाखाले जनाएको छ।त्यस्तै, आइतबार पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने र केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
महाशाखाले खराब मौसमका कारण दैनिक जनजीवन, कृषि, यातायात तथा हवाई उडान प्रभावित हुन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

