“रोजा समापनसँगै उल्लास” — देशभर मुस्लिम समुदायले मनाउँदैछन् इद उल फित्र
काठमाडौँ,चैत ७। अरबी पात्रो हिजरी संवत अनुसार नवौँ महिनाभर निराहार व्रत (रोजा) सम्पन्न गरेका मुस्लिम समुदायले आज देशभर हर्षोल्लासका साथ इद उल फित्र पर्व मनाउँदैछन्।
आज बिहान विशेष नमाज पाठ गर्दै एकआपसमा शुभकामना आदानप्रदान र ठूलाबडाबाट आशीर्वाद लिने क्रम जारी छ। काठमाडौँको नेपाली जामे मस्जिद लगायत देशभरका मस्जिद र इदगाहमा विशेष नमाज भइरहेको छ।
यस पर्वमा आफन्तजनकहाँ गएर आशीर्वाद लिने, सानालाई माया दिने र सेवई, खजुरजस्ता परिकार खुवाउने चलन रहेको छ। दीन दुःखी तथा गरिबलाई सहयोग र दान गर्ने विशेष महत्वका कारण यसलाई ‘इद उल फित्र’ भनिन्छ।
मुस्लिम धर्मावलम्बीले आफ्नो आम्दानीको करिब २.५ प्रतिशत दान गर्ने प्रचलन ‘जकात’ तथा इदका अवसरमा दिइने अनिवार्य दान ‘फित्र’का रूपमा गरिन्छ। यी दान गरिब तथा आवश्यकतामा परेकाहरूलाई वितरण गरिन्छ।
एक महिनासम्म सूर्योदयदेखि सूर्यास्तसम्म व्रत बसेर आत्मशुद्धि गर्ने परम्परापछि मनाइने यो पर्व मुस्लिम समुदायका लागि विशेष महत्वको मानिन्छ। इदका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।

