“चितवन हुँदै काठमाडौंतर्फ वर्षा प्रणाली” — केही क्षेत्रमा भारी वर्षाको सम्भावना



काठमाडौँ, चैत ७ । भारतको बिहार हुँदै नेपाल प्रवेश गर्न लागेको वर्षा प्रणाली आज बिहान देशका विभिन्न क्षेत्रमा प्रभाव पार्ने देखिएको छ।

मौसमविद्हरूका अनुसार चितवन को माडी क्षेत्र हुँदै प्रवेश गर्ने प्रणाली उत्तर–पूर्वतर्फ सर्ने क्रममा रहेको छ। यसले पश्चिम चितवनबाट पूर्वी चितवन, धादिङ र उत्तरी मकवानपुर क्षेत्रमा केही समय भारी वर्षा गराउने सम्भावना रहेको छ।

विशेषगरी भण्डारा, टाँडी, भरतपुर, मुग्लिङ र शक्तिखोर आसपासका क्षेत्रमा करिब ३ घण्टासम्म तीव्र वर्षा हुन सक्ने अनुमान गरिएको छ।

उक्त प्रणाली बिहान १०–११ बजेतिर काठमाडौं उपत्यका आइपुग्ने सम्भावना भए पनि त्यतिबेलासम्म कमजोर भइसकेकाले ठूलो वर्षाको सम्भावना कम रहेको जनाइएको छ।

यो प्रणालीपछि पश्चिम तथा मध्य क्षेत्रसहित काठमाडौंमा मौसम क्रमशः खुल्दै जाने पूर्वानुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्