“शहिदको घरमा पुगे सांसद डाक्टर तिमिल्सिना” — ककनीमा आमाको आँसु र सम्झनाको पीडा
नुवाकोट,चैत ७ । चुनावपछि धन्यवाद ज्ञापनका लागि आफ्नै क्षेत्रमा पुगेका नुवाकोट -१ प्रतिनिधिसभा सांसद डा. बिक्रम तिम्सिना ककनी गाउँपालिका–१ मा जेन्जी आन्दोलनका शहिद शुभराज बलामी का आमा भगवती बलामीलाई घरमै पुगेर भेट गर्नुभएको छ।
भेटका क्रममा आमाको पीडा, सम्झना र छोराको अन्तिम क्षणहरू पुनः ताजा बने। २८ वर्षीय शुभराज भदौ २३ गते आन्दोलनमा सहभागी भएर साँझ घर फर्किएका थिए। उनले दिनभरका घटनाबारे आमालाई सुनाएका थिए। त्यसपछि आमाले त्यस्तो आन्दोलनमा नजान आग्रह गरेकी थिइन्।
तर भोलिपल्ट बिहान आमाछोरा सँगै खाना खाएपछि साथीहरूले बोलाएको भन्दै शुभराज घरबाट निस्किए। “प्रहरीले गोली हानेर मान्छे मारिरहेको छ, नजाऊ भनेकी थिएँ। तर मानेन,” भगवतीले सांसद तिमिल्सिना सामु सम्झिइन्। उनले छोरा साँझ छिट्टै फर्किन्छु भनेर निस्किएको बताइन्।
त्यो साँझ भने कहिल्यै फर्किएन। रातभर आमा ढोकातिर हेर्दै बसेको स्मरण गरिन। सानो केहि आवाज आए पनि छोरा आयो कि भनेर झ्यालतिर हेर्ने गरेको बताइन्। भोलिपल्ट बिहानसम्म पनि खबर नआएपछि आफन्त र साथीहरूलाई सोधपुछ गर्दा मात्रै उनको मृत्यु भएको खबर प्राप्त भएको थियो।
शहिदको घरमा पुगेका सांसद डाक्टर तिम्सिनाले आमासँग भेटघाट गर्दै समवेदना व्यक्त गर्नुभएको थियो। चुनावी धन्यवाद कार्यक्रममा पुगेको यो भेट भावनात्मक बनेको थियो, जहाँ एक आमाको पीडा र सन्तान गुमाएको दुःख स्पष्ट देखिन्थ्यो।
ककनीको त्यो घर आज पनि उस्तै छ, तर “साँझ छिट्टै फर्किन्छु” भन्ने आवाज भने सधैंका लागि हराइसकेको छ।

