अवरुद्ध बीपी राजमार्ग सुचारु
काभ्रेपलाञ्चोक, चैत ७। शुक्रबार परेको वर्षाका कारण अवरुद्ध भएको बीपी राजमार्ग शनिबार बिहान सुचारु भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका नायब उपरीक्षक रबिन बिष्टका अनुसार बिहान साढे ३ बजे अवरुद्ध बनेको राजमार्ग बिहान ९:३० बजेबाट पुनः सञ्चालनमा आएको हो।
रोसी खोलामा पानीको बहाव कम भएसँगै बाढीले क्षति पुर्याएको स्थानमा सडक मर्मत गरिएको थियो। सडक मर्मतपछि राजमार्गमा साना र ठूला सवारी साधनहरू सुचारु रूपमा चल्न थालेको प्रहरीले जनाएको छ।
प्रहरीले तत्काल राजमार्ग सुचारु भए तापनि मौसम प्रतिकुल रहँदा यात्रुहरूलाई सावधानीपूर्वक यात्रा गर्न आग्रह गरेको छ। गत वर्षको बाढीले भकुण्डेदेखि नेपालथोकसम्मको २८ किलोमिटर सडक खण्डमा क्षति पुर्याएको थियो। हाल चौकीडाँडेदेखि नेपालथोकसम्म अस्थायी डाइभर्सनमार्फत सवारी सञ्चालन भइरहेको छ।
सडक अस्थायी भएकाले सामान्य वर्षामा समेत अवरुद्ध हुने जोखिम कायमै रहेको प्रहरीले सचेत गराएको छ।

