हावाहुरीले मकै बाली सोत्तर
सर्लाही, चैत ७। मधेश प्रदेशमा पाँच महिनापछि शुक्रबार साँझ मेघगर्जन र हावाहुरीसहित वर्षा परेको छ। किसानहरूका अनुसार हावाहुरीले भर्खरै घोगा लागेको हाइब्रिड मकैमा व्यापक क्षति पुर्याएको छ।
लालबन्दी नगरपालिका–४ का केदार कार्कीले भने, “हप्ता दिनमै दुई पटक ठुलो हावाहुरी चलेर मकैका बोट सोत्राम परे। मकैमा खर्च गरिएको बीउबिजन, मल, किटनाशक र मेहनत खेर गएको जस्तो छ।” सर्लाहीको कर्मैया, हरिभवन, लालबन्दी, जब्दी, रानिगन्ज, परवानिपुर र घारिबथानका किसानले पनि हावाहुरीले मकै बालीमा बढी क्षति गरेको बताएका छन्।
तर, बरहथवा नगरपालिका–१ का रत्नबहादुर गिरीले भने, “असिना नपरेकोले मकै जोगिएको छ। केही ठाउँमा मकै ढले पनि ठूलो क्षति भएको छैन।” हावाहुरीले आँप र लिचीका फूल झारिदिएको भए पनि अन्य बालीनालीहरूलाई भने वर्षाले फाइदा पुगेको छ।
जिल्लाका कच्ची घरहरू, काँचो इँटाका भट्टा र बिजुली सेवा क्षेत्रमा पनि सामान्य क्षति भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार हावाहुरीले अवरुद्ध पारेको बिजुली अधिकांश ठाउँमा रातिदेखि सुचारु भइसकेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी सरोज राईले भने, “हावाहुरीबाट ठूलो किसिमको क्षतिको अहिलेसम्म सूचना प्राप्त भएको छैन।” शनिवार बिहानदेखि मौसम धुम्मिएको छ र पुनः वर्षाको सम्भावना रहेको छ।

