जेनजी अगुवा रक्षा बमको माग: आन्दोलन जाँच आयोगको प्रतिवेदन सार्वजनिक गर



काठमाडौँ, चैत ७। जेनजी आन्दोलनकी अगुवा रक्षा बम ले आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न पुनः माग गरेकी छन्।

प्रधानमन्त्री सुशीला कार्की लाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जालमार्फत लेखेकी छन्, “कृपया प्रतिवेदन सार्वजनिक गरिदिनुहोस्। त्यो तपाईंको जिम्मेवारी हो। न्याय पर्खिरहेका आँखाहरू तपाईंतिरै फर्किएका छन्। इतिहासले तपाईंलाई कसरी सम्झिने, त्यो निर्णय आज तपाईंकै हातमा छ।”

गौरीबहादुर कार्की को संयोजकत्वमा गठन गरिएको आयोगले प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइसकेको भए पनि हालसम्म सार्वजनिक गरिएको छैन।

अगुवा बमले प्रतिवेदन सार्वजनिक भएपछि आन्दोलनका घटनाबारे सत्य जान्न आफू पनि उत्सुक रहेको बताएकी छन्। “मेरो हातमा रगत लागेको छ कि छैन, म जान्न चाहन्छु। आन्दोलन कसरी हिंसात्मक भयो, गोली चलाउने आदेश कसले दियो र सिंहदरबार जलाउने जिम्मेवार को हो भन्ने सत्य बाहिर आउनुपर्छ,” उनले उल्लेख गरेकी छन्।

आन्दोलनसँग सम्बन्धित विवाद र प्रश्नहरूबीच प्रतिवेदन सार्वजनिक नभएको विषयले थप चासो र बहस उत्पन्न गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्