चितुवाको आक्रमणबाट नुवाकोटमा ५ वटा बाख्रा मरे, ५ बेपत्ता
नुवाकोट, चैत ७। नुवाकोटको दुप्चेश्वर गाउँपालिका–७ मा चितुवाको आक्रमणबाट स्थानीय तामाङ दम्पतीको बाख्रा नोक्सान भएको छ।
गएराति कुटुङ खोल्सा र ब्राङन खोल्सा सिमाना क्षेत्रमा चितुवाले आक्रमण गर्दा जीतबहादुर तामाङ र अन्तरी तामाङका ५ वटा बाख्रा मरेका छन् भने १ वटा घाइते र ४ वटा बेपत्ता भएका छन्।
वडा अध्यक्ष बुद्धिमान तामाङले घटनाको पुष्टि गर्दै स्थानीय किसानलाई ठूलो क्षति पुगेको जानकारी दिए। घटनापछि वडा कार्यालय, रेन्ज पोस्ट र प्रहरीको टोलीले स्थलगत मुचुल्का उठाएको छ।
प्रभावित किसानका लागि क्षतिपूर्ति उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरिएको छ। चितुवाको आक्रमणपछि स्थानीय किसानहरू त्रसित बनेका छन् भने पशुपालनमा निर्भर परिवारहरू थप चिन्तामा परेका छन्।

