कमजोरी नसुधारे एमाले ‘स्कुटरमा अट्ने’ अवस्थामा पुग्छ : सुरेन्द्र पाण्डे
बुटवल, चैत ७। सुरेन्द्र पाण्डे ले पार्टीका कमजोरी सुधार नगरे आगामी निर्वाचनमा नेकपा एमाले को सिट संख्या अत्यन्तै घट्न सक्ने चेतावनी दिएका छन्।
शनिबार बुटवलमा आयोजित कार्यक्रममा उनले पहिले एमाले ३/४ वटा बसमा अट्ने अवस्था रहेको स्मरण गर्दै अहिले माइक्रोबसमा सीमित भएको र सुधार नगरे भविष्यमा “स्कुटरमै अट्ने” स्थिति आउन सक्ने बताए।
“२०७४ मा १७४ सिट जितेर दिग्विजय हासिल गरेका थियौँ, तर त्यसलाई जोगाउन सकेनौँ,” उनले भने, “पहिले बसमा आउने कम्युनिस्टहरू अहिले माइक्रोमा अट्ने भएका छन्, यस्तै रह्यो भने भोलि स्कुटरमै अट्ने अवस्था आउँछ।”
पाण्डेले नेतृत्वले आफ्ना कमजोरी स्वीकार गरी सुधारतर्फ अग्रसर नभए कार्यकर्तामा उत्साह घट्ने र आगामी निर्वाचनमा उम्मेदवार नै पाउन कठिन हुने चेतावनी दिए। “हार्ने निश्चित भएको निर्वाचनमा किन कोही कार्यकर्ता लड्न जान्छ?” उनले प्रश्न गरे।
उनको भनाइले एमालेभित्र आत्मसमीक्षा र सुधारको बहस थप चर्किने संकेत देखिएको छ।

