दाउन्नेमा ७ किमि लामो जाम, वर्षाले सवारी आवागमन अस्तव्यस्त
नवलपुर, चैत ७। लगातारको वर्षाका कारण चिप्लो सडकमा सवारी साधन उक्लिन नसक्दा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको दाउन्ने खण्डमा लामो जाम लागेको छ।
इलाका प्रहरी कार्यालय दुम्किवासका अनुसार उक्त सडक खण्डमा करिब ७ किलोमिटरभन्दा लामो जाम भएको छ। शुक्रबार दिउँसोदेखि परेको वर्षाले सडक चिप्लो बनेपछि सवारी आवागमन अवरुद्ध हुँदै ट्राफिक व्यवस्थापनमा समस्या भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख युवराज खड्का का अनुसार सडक केही समय खुल्ने गरे पनि पुनः अवरुद्ध हुने क्रम जारी रहेकाले सवारी साधन लामो जाममा परेका छन्। पैसट्ठीमोड र विश्वकर्मा मन्दिर आसपास क्षेत्रमा बढी समस्या देखिएको उनले बताए।
हाल वर्षा रोकिएसँगै अवस्था क्रमशः सुधार हुने अपेक्षा गरिएको छ, तर सावधानीपूर्वक यात्रा गर्न प्रहरीले आग्रह गरेको छ।

