एम्बुलेन्समै लुकाएर चिनियाँ चुरोट तस्करी गर्ने रसुवाका चार जना पक्राउ
रसुवा, चैत ७। एम्बुलेन्स प्रयोग गरी अवैध रूपमा चिनियाँ चुरोट ओसार–पसार गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको उत्तरगया गाउँपालिका–५ स्थित पासाङ ल्हामु राजमार्ग अन्तर्गत सवारी जाँचका क्रममा शंकास्पद एम्बुलेन्सबाट ठूलो परिमाणमा चुरोट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रसुवा ले जनाएको छ।
प्रहरीका अनुसार बा.प्र. ०१००२ झ ५४२६ नम्बरको एम्बुलेन्सभित्र अगाडि र पछाडि लुकाइछिपाइ गरी राखिएको ‘हर्मोनाइजेशन’ लेखिएको ३ हजार ४ सय ४० बट्टा चिनियाँ चुरोट फेला परेको हो।बरामद चुरोटको अनुमानित मूल्य करिब ८ लाख ९० हजार रुपैयाँ रहेको छ।
घटनामा संलग्न आमाछोदिङमो गाउँपालिका–३ का ४३ वर्षीय चालक दावा तामाङसहित माक्सु तामाङ (२७), सुसिल तामाङ (३२) र सुनिता तामाङ (३६) लाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले एम्बुलेन्स र चुरोट नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

