नुवाकोटमा बनडढेलो नियन्त्रण अभ्यास, सचेतना अभियान तीव्र
नुवाकोट, चैत ७। सुख्खायामसँगै बनडढेलोको जोखिम बढेपछि नुवाकोटमा त्यसको नियन्त्रण र व्यवस्थापनका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ।
डिभिजन वन कार्यालय नुवाकोट को आयोजनामा विदुर नगरपालिका–२ स्थित जंगल क्षेत्रमा बनडढेलो नियन्त्रणसम्बन्धी कृत्रिम घटना अभ्यास गरिएको हो। “हरियो वन, सुरक्षित जीवन” भन्ने नारासहित आयोजित कार्यक्रममा सर्वसाधारण, सामुदायिक वन उपभोक्ता, सुरक्षाकर्मी र जनप्रतिनिधिको सहभागिता रहेको थियो।डिभिजन वन प्रमुख प्रदीपनाथ शर्मा का अनुसार अभ्यासमार्फत आगलागी नियन्त्रण, उद्धार तथा सुरक्षित स्थानान्तरणका उपायबारे व्यवहारिक ज्ञान प्रदान गरिएको हो। कार्यक्रममा दमकल, एम्बुलेन्स, अग्निनियन्त्रक सामग्री र सञ्चार प्रणालीको प्रयोगसम्बन्धी अभ्यास गराइएको थियो।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, जिल्ला प्रहरी प्रमुख विपिन रेग्मी, नेपाली सेना र सशस्त्र प्रहरीका प्रतिनिधि तथा स्वास्थ्य क्षेत्रका अधिकारीहरूले यस्ता अभ्यासले जोखिम न्यूनीकरणमा महत्वपूर्ण सहयोग पुग्ने बताए।
यसैबीच, वन संरक्षणबारे जनचेतना फैलाउने उद्देश्यले नुवाकोटको माझिटारमा वक्तृत्वकला प्रतियोगिता पनि आयोजना गरिएको छ।प्रतियोगितामा च्वाडी पब्लिक माविकी रञ्जिता मानन्धर प्रथम, चन्द्रज्योति माविका पर्वत पाण्डे द्वितीय र सरस्वती राई तृतीय भएका छन्।
कार्यक्रमले बनडढेलोको जोखिम न्यूनीकरण, पूर्वतयारी सुदृढीकरण र समुदायस्तरमा सचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

