जेनजी आयोगको प्रतिवेदन सार्वजनिक गर्न उज्यालो नेपालको माग



काठमाडौँ, चैत ८। उज्यालो नेपाल पार्टीले जेनजी आन्दोलनको घटना जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको छ।

पार्टी अध्यक्ष कुलमान घिसिङ नेतृत्वको प्रतिनिधिमण्डलले शनिबार प्रधानमन्त्री सुशीला कार्की लाई भेटेर गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न आग्रहसहित विभिन्न मागपत्र बुझाएको हो।

उज्यालो नेपाल पार्टीले वर्तमान नेतृत्वले मुलुकलाई कठिन अवस्थाबाट सुरक्षित अवतरण गराएको भन्दै प्रधानमन्त्री कार्कीलाई बधाईसमेत दिएको छ। अध्यक्ष घिसिङले चुनौतीपूर्ण परिस्थितिमा सफलतापूर्वक निर्वाचन सम्पन्न गराई राजनीतिक स्थायित्व कायम गर्न नेतृत्वले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे।

भेटका क्रममा प्रधानमन्त्री कार्कीले पनि उज्यालो नेपाल पार्टीले निर्वाचन प्रक्रियामा सहभागिता जनाएर लोकतान्त्रिक अभ्यासलाई सघाएको भन्दै प्रशंसा गर्नुभयो। साथै सरकारको सफलतामा अध्यक्ष घिसिङको योगदान उल्लेखनीय रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्