घटनापछि सशस्त्रका डीएसपीसहित कर्मचारी तानिए, छानबिन सुरु



काठमाडौं, चैत ८ । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बलको सीमा सुरक्षा गुल्ममा भएको घटनापछि गुल्मपति डीएसपीसहित कर्मचारीलाई काठमाडौँस्थित प्रधान कार्यालय झिकाइएको छ।

सशस्त्र प्रहरी बल नेपाल का अनुसार चैत ४ गते भारतबाट अवैध रूपमा ल्याइँदै गरेको सामान नियन्त्रणका क्रममा भएको घटनामा युनिट सुरक्षामा लापरबाही देखिएको आशंकापछि कारबाहीका लागि सम्बन्धित कर्मचारीलाई तानिएको हो।

घटनामा केही तस्कर समूह सशस्त्र प्रहरीको कार्यालयभित्रै प्रवेश गरी गुल्मपतिमाथि हातपातको प्रयास गरेको भन्दै सो क्रममा किन आवश्यक बल प्रयोग हुन सकेन भन्ने विषयमा गम्भीर छानबिन सुरु गरिएको छ। सशस्त्रका प्रवक्ता विष्णुप्रसाद भट्ट ले युनिट सुरक्षामा कमजोरी भएको विषयमा प्रधान कार्यालयको ध्यानाकर्षण भएको जानकारी दिनुभयो।

यसअघि नै घटनाको छानबिनका लागि नं ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीले सशस्त्र प्रहरी उपरीक्षक अनिल कार्कीको संयोजकत्वमा समिति गठन गरिसकेको छ। घटनापछि ड्युटीमा रहेका कर्मचारीलाई पनि मुख्यालय तानिएको छ भने सो स्थानमा नयाँ टोली परिचालन गरिएको छ।

सशस्त्र प्रहरीले तस्करी नियन्त्रणलाई प्राथमिकतामा राख्दै खक्रौला क्षेत्रलाई विशेष निगरानीमा राखिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्