टिप्पर दुर्घटनामा तीनको मृत्यु, एक गम्भीर
पाल्पा, चैत ८। पाल्पामा टिप्पर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार अर्घाखाँचीको सितगंगा नगरपालिका–४ का २६ वर्षीय चिन्ताबहादुर सुनारको घटनास्थलमै मृत्यु भएको हो। अन्य दुई मृतकको पहिचान खुल्न सकेको छैन।
शनिबार बेलुकी करिब ६ बजे माथागढी–४ झडेवाबाट वडा नं. ७ रहबासस्थित चुनढुंगा खानीतर्फ जाँदै गरेको लु २ ख ४५२५ नम्बरको खाली टिप्पर दुर्घटना भएको थियो। दुर्घटनामा चालकसहित चार जना गम्भीर घाइते भएका थिए।
घाइतेहरूलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पुर्याएपछि चिकित्सकले तीन जनालाई मृत घोषणा गरेका हुन्।दुर्घटनामा गम्भीर घाइते तानसेन–१० पटुवाका ३३ वर्षीय राजन चिदीको उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

