हिमपातले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुल्यो, २२० यात्रुको उद्धार



बागलुङ/रुकुम, चैत ८। भारी हिमपातका कारण अवरुद्ध भएको मध्यपहाडी लोकमार्गमा फसेका २२० भन्दा बढी यात्रुको उद्धार गरिएको छ।

बागलुङ र पूर्वी रुकुमको सिमाना पातिहाल्ने क्षेत्रमा शुक्रबार रातिदेखि परेको हिमपातले सडक अवरुद्ध भएपछि सातवटा बस, १० वटा मोटरसाइकल र एउटा जिपमा सवार यात्रु समस्यामा परेका थिए।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले डोजर प्रयोग गरी करिब तीन किलोमिटर सडकको हिउँ पन्छाएर मार्ग खुलाएको पूर्वी रुकुमका सहायक प्रमुख जिल्ला अधिकारी समिर गौतमले जानकारी दिए। उद्धारपछि यात्रुहरू सुरक्षित रूपमा गन्तव्यतर्फ लागेका छन्।

उनका अनुसार शुक्रबार साँझदेखि सुरु भएको हिमपातले बिहानसम्म सडक पूर्ण रूपमा बन्द भएको थियो। सूचना प्राप्त हुनासाथ भूमे गाउँपालिकाको मेसिनसहित सुरक्षाकर्मी परिचालन गरी उद्धार कार्य गरिएको हो।

यता, इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक तिलक मानन्धरले बागलुङ खण्डमा हिउँ परे पनि यातायात पूर्ण रूपमा नरोकिएको बताए। प्रहरीले काठमाडौँ, पोखरा लगायतबाट रुकुम, रोल्पा, जाजरकोट, डोल्पा, सल्यान र दैलेखतर्फ जाने यात्रुहरूलाई सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्