बहुमतसहित सरकार गठनको तयारीमा रास्वपा, बालेन्द्र शाह प्रधानमन्त्री बन्ने



काठमाडौँ, चैत ८ । प्रतिनिधि सभामा झन्डै दुई तिहाइ बहुमत (१८२ सिट) हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकार गठनको आन्तरिक तयारीमा जुटेको छ।

स्पष्ट बहुमतसहित एकल सरकार गठन गर्ने तयारीमा रहेको रास्वपाले नवनिर्वाचित सांसदको शपथपछि संसदीय दलको नेता चयन गरी प्रधानमन्त्रीको शपथ गराउने योजना बनाएको छ। पार्टी प्रवक्ता मनिष झाका अनुसार चैत १२ गते संसद् भवनमा सांसदहरूको शपथग्रहण हुनेछ भने त्यसलगत्तै संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाइनेछ।

पार्टी स्रोतका अनुसार वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन गरी प्रधानमन्त्री बनाउने तयारी भइरहेको छ। यसका लागि पार्टीको विधान परिमार्जन गर्ने प्रक्रिया पनि अघि बढाइएको छ। रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह तथा उपसभापतिद्वय डिपी अर्याल र स्वर्णिम वाग्लेबीच यस विषयमा आन्तरिक छलफल जारी रहेको बताइएको छ।

निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण गरिसकेको छ भने निर्वाचनको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाइसकिएको छ। सङ्घीय संसद् सचिवालयले चैत १२ गते शपथग्रहण कार्यक्रम तय गरेको छ।

स्रोतका अनुसार चैत १३ गते प्रधानमन्त्रीको शपथ तथा मन्त्रिपरिषद् गठनको तयारी भइरहेको छ। रास्वपाले १५ देखि १८ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने प्रारम्भिक तयारीसमेत गरिसकेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्