कांग्रेसले निर्वाचनमा आन्तरिक विवाद र कमजोरीले पराजय भोगेको निष्कर्ष



काठमाडौँ, चैत ८ – नेपाली कांग्रेसले हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा कम्तीमा २१ वटा निर्वाचन क्षेत्रमा पार्टीभित्रकै आन्तरिक विवाद र कमजोरीका कारण पराजय भोगेको निष्कर्ष निकालेको छ।

पार्टीको केन्द्रीय समितिको बैठकले ५ देखि ३ हजारभन्दा कम मतान्तरले हारिएका क्षेत्रहरूमा मुख्यतः आन्तरिक कारण जिम्मेवार भएको देखाएको छ। ३ हजारदेखि ५ हजार मतान्तरले हार भएका क्षेत्रमा आन्तरिक मतभिन्नता र निर्वाचन अभियानमा कमजोरीको प्रभाव देखिएको छ। ५ हजारदेखि १० हजार मतान्तरमा पराजित क्षेत्रहरूमा भने आन्तरिक विवाद, कमजोर क्याम्पेन र प्रतिकूल ‘न्यारेटिभ’ले कांग्रेसलाई रक्षात्मक बनाएको बताइएको छ।

पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार, केही क्षेत्रमा संगठनात्मक कमजोरी मात्र नभई मतदाताको कांग्रेसमा गर्ने विश्वासमा कमी आएको पनि देखिएको छ। कांग्रेसको ९ औँ महाधिवेशनमा करिब १ लाख सदस्य थिए, जुन १४ औँ महाधिवेशनसम्म आइपुग्दा ८ लाख ७० हजार पुगेको छ। तर पार्टीले अपेक्षित मत पाउन नसक्नु गम्भीर प्रश्न बनेको छ।

केन्द्रीय समितिको बैठकले आगामी दिनमा मतदाताको विश्वास पुनःआर्जन गर्ने, संगठनलाई सशक्त बनाएर जनतामाझ लैजाने कार्यदिशा तय गर्ने निर्णय गरेको प्रवक्ता चालिसेले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्