नुवाकोटमा बेपत्ता युवकको खोजी तिव्र, सिसिटिभी फुटेज भेटियो



• भरतसन्तोषी लामा

नुवाकोट, चैत ८ – नुवाकोटको पञ्चकन्या गाउँपालिका–५ भद्रुटार च्वान्डाँडाबाट बेपत्ता भएका १७ वर्षीय युवक संकल्प लोहनीको खोजी जारी रहँदा उनको सिसिटिभी फुटेज फेला परेको छ। उक्त फुटेजले परिवार र स्थानीयवासीमा एकातिर आशा जगाएको छ भने अर्कोतर्फ रहस्य झन् गहिरिएको छ।

चैत ५ गते बेलुका “खत्रीबेसीमा नारायण पूजा जान्छु” भन्दै घरबाट निस्किएका संकल्प त्यसयता सम्पर्कविहीन छन्। उनका हजुरबुवा सनतबहादुर लोहनीका अनुसार उनीसँग न त पैसा थियो, न कुनै झोला या त कुनै लत्ताकपडा —जसले उनी बेपत्ता हुनु अझै रहस्यमय बनेको छ।

परिवारले छहरेस्थित अस्थायी प्रहरी चौकीमा निवेदन दिइसकेको छ भने आफन्त र स्थानीयवासीले छहरे, थानापती, गुर्जे लगायतका विभिन्न स्थानका वन जङ्गलमा समेत खोजी गरिसकेका छन्। तर, हालसम्म उनको कुनै ठोस जानकारी प्राप्त हुन सकेको छैन।

यसैबीच, बुढिसेरा–छहरे सडकखण्ड अन्तर्गत स्थानीय व्यवसायी हरि थापाको घरमा जडान गरिएको सिसिटिभी क्यामेरामा संकल्प देखिएका छन्। फुटेज अनुसार उनी बिहीबार राति १० बजेर ५१ मिनेटमा एक्लै छहरेतर्फ छिटो–छिटो हिँड्दै गरेको देखिन्छ।

बच्छला माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत संकल्प शारीरिक र मानसिक रूपमा सवल विद्यार्थी रहेको विद्यालयले जनाएको छ। तर उनले किन घर छोडे र कहाँ गएका हुन् भन्ने प्रश्न अझै अनुत्तरित छ।

परिवारले संकल्पलाई कसैले देखे वा भेटेमा नजिकको प्रहरी चौकीमा जानकारी दिन वा ९८४९१०१५६२, ९७६४६०५२६० र ९७६५२२८१३१ नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ।

स्थानीय समुदाय, प्रहरी र परिवारको संयुक्त प्रयासमा खोजी कार्य तीव्र पारिएको भए पनि संकल्पको अवस्था अझै अज्ञात रहनु सबैका लागि चिन्ताको विषय बनेको छ।

प्रतिक्रिया दिनुहोस्