निर्वाचन हारपछि राप्रपामा हलचल: डा. प्रकाशचन्द्र लोहनीले पद त्यागे
काठमाडौँ, चैत ८ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निर्देशन समितिका अध्यक्ष प्रकाशचन्द्र लोहनी ले चुनावी परिणामको नैतिक जिम्मेवारी लिँदै आफ्नो पदबाट राजीनामा दिएका छन्।
आइतबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन लाई पत्र लेख्दै लोहनीले निर्देशन समितिको अध्यक्ष पदबाट अलग भएको जानकारी गराएका हुन्। उनले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको निराशाजनक परिणामले आफू स्तब्ध भएको उल्लेख गरेका छन्।
लोहनीले पत्रमा पार्टीको सम्पूर्ण नेतृत्व तहले पनि मार्ग प्रशस्त गरी तदर्थ समिति गठन गर्दै महाधिवेशनको प्रक्रियामा जानुपर्ने आवश्यकता औंल्याएका छन्। जनभावनाअनुसार पार्टी पुनर्गठन गर्नुपर्ने भन्दै उनले आवश्यक परे मात्रै भविष्यमा पुनः जिम्मेवारी सम्हाल्ने संकेत गरेका छन्।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राप्रपाले प्रत्यक्षतर्फ देशभर जम्मा एक क्षेत्र (जुम्ला–१) मात्र जितेको थियो भने समानुपातिकतर्फ करिब ३ लाख ३० हजार मत प्राप्त गरेको थियो।
यसअघि २०७९ सालको निर्वाचनमा भने पार्टीले प्रत्यक्षतर्फ ७ सिट र समानुपातिकतर्फ ५ लाख ८६ हजार मत पाएको थियो।

