पर्खाल भत्किँदा महिलाको ज्यान गयो, चार घाइते



ललितपुर, चैत ८ — ललितपुर महानगरपालिका–२८ हरिसिद्धीस्थित एक इँटाभट्टाको पर्खाल भत्किँदा एक महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

होसना इँटाभट्टामा आज पर्खाल भत्किँदा रुकुम घर भएकी ५५ वर्षीया तिल्सरी खड्का पर्खालले किचिएर गम्भीर घाइते भएकी थिइन्। उनको उपचारका क्रममा ठैंबस्थित मेडिसिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा अन्य चार जना घाइते भएका छन्। घाइते हुनेमा २७ वर्षीया जानकी चन्द, २७ वर्षीया शान्ति कुँवर, ४६ वर्षीया नन्दकुमारी मगर र १९ वर्षीया सुमा कुमाल रहेका छन्। गम्भीर घाइते चन्दलाई थप उपचारका लागि मोडल अस्पताल लगिएको छ।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्