नदी किनारमा फेला पर्यो तेस्रो किशोरीको शव
रुकुमपश्चिम, चैत ८ । सानीभेरी नदी किनारमा आइतबार दिउँसो एक किशोरीको शव फेला परेको छ। शव बाँफिकोट गाउँपालिका–३ निवासी १३ वर्षीया सपना ओलीको रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार सपना फागुन २५ गतेदेखि हराएकी थिइन्। हराएको १३ दिनपछि उनको शव फेला परेको हो। यसअघि उनका दुई दिदीबहिनी १४ वर्षीया कल्पना ओली र १२ वर्षीया उर्मीला ओलीको शव फागुन २६ गते नै सोही नदीमा फेला परेको थियो।
तीनै दिदीबहिनी आफन्तको विवाहमा सहभागी हुन मुसीकोट नगरपालिका–१ भलखोलागाउँ गएका थिए। प्रहरीका अनुसार फर्कने क्रममा नदी तर्ने बेला बगेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।
शवको पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

