राजीनामा अस्वीकृत : गगन थापाकै नेतृत्वमा अघि बढ्ने कांग्रेसको निर्णय



काठमाडौँ, चैत ८ — नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको छ।

चुनावी हारको नैतिक जिम्मेवारी लिँदै सभापति थापाले गत बुधबार उपसभापति विश्वप्रकाश शर्मा समक्ष राजीनामा दिएका थिए। सो राजीनामाबारे आज बसेको केन्द्रीय कार्यसमिति बैठकमा विस्तृत छलफलपछि अस्वीकृत गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो।

बैठकले निर्वाचनमा भएको पराजयका लागि संरचनागत कमजोरी र नियन्त्रण बाहिरका परिस्थितिलाई प्रमुख कारण मानेको छ। प्रवक्ता चालिसेका अनुसार वर्तमान जटिल राजनीतिक अवस्थालाई ध्यानमा राख्दै सभापति थापाको नेतृत्व आवश्यक ठहर गरिएको हो।

“राजीनामा स्वीकार गर्दा पार्टीभित्र अनावश्यक अस्थिरता, अन्योल तथा कार्यकर्ताको मनोबलमा गिरावट आउने सम्भावना रहेकाले अस्वीकार गरिएको हो,” चालिसेले भन्नुभयो।

गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट थापा सभापति बनेका थिए। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले ३८ सिट मात्रै जितेको थियो।

बैठकले अब थापाकै नेतृत्वमा पार्टीलाई सुदृढ गर्दै आगामी १५औँ महाधिवेशनतर्फ केन्द्रित हुने निर्णयसमेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्